२०७७ जेष्ठ १९ : काठमाडौँ – नेपालमा सोमबार एकैदिन २२६ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ सय ९८ पुगेको छ । तिमध्ये १६ सय ६७ पुरुष र १ सय ३१ महिला हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले नेपालमा थप २२६ जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताउनु भयो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दैलेखमा ४१, कपिलवस्तुमा ४०, सर्लाहीमा ३८, जुम्लामा १९, रौतटहमा १८, कैलालीमा १४, सल्यानमा १०, दाङमा ९, बाँकेमा ७, धनुषामा ७ जना संक्रमित थपिएका छन् ।
सिरहामा ५, सुर्खेतमा ५, नवलपरासीमा ३, महोत्तरीमा २ र झापामा २ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, मकवानपुर, उदयपुर, अछाम, बैतडी, डोटी र कञ्चनपुरमा एकरएक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनु भयो ।
डाक्टर देवकोटाका अनुसार अहिले देशभरका आइसोलेसनमा १५ सय ६७ जना संक्रमित रहेका छन् । आजसम्म २ सय २१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ जना रहेको छ ।