विदेशमा रोकिएका नेपालीका शव ल्याउने तयारी

News

२०७७ जेष्ठ २० : काठमाडौँ – सरकारले विदेशमा रोकिएका नेपालीका शव  ल्याउने भएको छ । अलपत्र परेका नेपाली फर्काउन चार्टर्ड उडान गर्ने तयारी गरिरहेको सरकारले यही समयमा शव पनि ल्याउने भएको हो ।

सकरारले बनाएको कार्ययोजनामा रोकिएका शव ल्याउने व्यवस्था मिलाउन परराष्ट्र र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई भनिएको छ । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा २ सय २७ नेपालीका शव विभिन्न देशमा रोकिएका थिए । ल्याउन समय लाग्ने भएपछि ७५ शव विदेशमै अन्त्येष्टि गरिदिन परिवारले भनेका थिए । बाँकी रहेका १ सय ५२ शव ल्याउन सकिएको थिएन ।

कोरोनाका कारण ज्यान गुमाएकाहरुको शव ल्याउन नसकिने भए पनि अन्य शव ल्याइने वैदेशिक रोजगार बोर्डले जनाएको छ । सबैभन्दा धेरै शव मलेसिया र साउदीमा छन् । मलेसियामा ४८ र साउदीमा ४७ वटा शव रोकिएका छन् । कतारमा २७ र युएईमा १२ शव रोकिएका छन् ।

यस्तै कुवेतमा ११, बहराइनमा ३, ओमानमा १ र अन्य देशमा ३ वटा शव छन् ।  यीमध्ये केही लकडाउन सुरु हुनुभन्दा पहिले नै ज्यान गुमाएका नेपाली हुन् । यसबीचमा कोरोना बाहेकका कारणले ज्यान गुमाएका नेपालीको शव पनि रोकिएको थियो ।

नेपालमा ल्याइसकेपछि मृतकका परिवारलाई शव जिम्मा लगाउने व्यवस्था श्रम मन्त्रालयले गर्नेछ । शव ल्याउने खर्च सम्बन्धित रोजगारदाताले नै व्यहोर्ने छन् । तर, विशेष कारण उनीहरुले नब्योहोर्ने अवस्था भएमा वैदेशिक रोजगार कल्याणकारी कोषबाट ब्यहोरिने सरकारको योजना छ ।

सरकारले विदेशमा अलपत्र परेका आफ्ना नागरिक फर्काउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । अहिले ती देशबाट फर्किनेहरुको विवरण संकलन भइरहेको छ ।