राष्ट्रिय आविष्कार केन्द्रलाई जापानमा रहेका नेपालीले गरे २१ लाखको सामान सहयोग

News

काठमाडौँ – जापानमा रहेका नेपालीहरूले राष्ट्रिय आविष्कार केन्द्रलाई २१ लाख बराबरको सामान सहयोग पठाएका छन् ।

केन्द्रमा बनिरहेका विभिन्न उपकरणका लागि आवश्यक पर्ने सामग्री नेपाल आइपुगेका छन् । तीमध्ये स्वाब निकाल्न आवश्यक पर्ने ‘स्वाब स्टिक’ बनाउने थ्रिडी प्रिन्टरसमेत नेपाल आइपुगेको केन्द्रका प्रमुख महाविर पुनले बताउनु भयो । उक्त प्रिन्टरको करीब १४ लाख रूपैयाँ पर्ने उहाँले बताउनु भयो ।

मेरिकाबाट संकलन भएको ८ लाख रूपैयाँ र बाँकी सबै जापानबाट सहयोग संकलन गरेर सामानका पठाइएको हो ।  केन्द्रका प्रमुख पुनले बाँकी रकमको लागि जापानमा रहेकालाई ऋण वा सहयोग गर्न अनुरोध गरेका थिए । तर, जापानबाटै २१ लाख २८ हजार रूपैयाँ सहयोग प्रदान भएको र केन्द्रलाई चाहिने अन्य सामान पनि किन्न सकिएको उहाँको  भनाइ छ ।

नेपाल एअरलाइन्सले १६५ केजी सामान निःशुल्क काठमाडौँसम्म ल्याउन सहयोग गरेको थियो । थ्रिडी प्रिन्टर जडान गरेर स्वाब संकलन गर्न आवश्यक पर्ने ‘स्वाब स्टिक’ बनाइनेछ । उक्त ‘स्वाब स्टिक’ स्वास्थ्य मन्त्रालयले प्रमाणिकरण गरेपछि मात्र प्रयोगमा ल्याइने पुनको भनाइ छ । मन्त्रालयले प्रमाणिकरण गरेछपि ‘स्वाब स्टिक’ स्वास्थ्य मन्त्रालयलाई नै प्रदान गरिनेछ ।

आविष्कार केन्द्रले अहिले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने पीपीई सेट, मास्क, पञ्जा, स्वाब संकलन गर्ने बुथ लगायत सामग्री निर्माण गर्दै आएको छ ।