रियो डि जानेरियो ,जेठ २४ गते। ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले आफ्नो देश विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट बाहिरिने चेतावनी दिनुभएको छ । उहाँले शुक्रबार डब्लुएचओलाई यस्तो चेतावनी दिनुभएको अधिकारीहरुले जानकारी दिएका छन् । डब्लुएचओले यस्तै व्यवहार गरिरहयो भने ब्राजिल डब्लुएचओबाट बाहिरिन पनि पर्न सक्दछ, उहाँले भन्नुभयो ।
उहाँले डब्लुएचओलाई राजनीतिक प्रभावमा परेर त्यस्तै प्रकारको भूमिका खेल्न लागेको आरोप पनि लगाउनु भएको छ ।
राष्ट्रपति बोल्सोनारोले देशमा लकडाउन खुल्ला गरेकोमा डब्लुएचओले असहमति जनाउदै गलत भएको टिप्पणी गरेपछि उहाँले यस्तो चेतावनी दिनुभएको हो ।लकडाउन खुल्ला गरेकाले ब्राजिलमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या अत्याधिक बृद्धि भएको भन्दै डब्लुएचओले चिन्ता व्यक्त गरेको थियो ।
डब्लुएचओले सामाजिक दुरी कायम राख्ने कुरालाई बढी ख्याल गर्न पनि ब्राजिललाई आग्रह गरेको थियो । तर यस विषयमा राष्ट्रपति बोल्सोनारोले लामो समयदेखि असहमति राख्दै आउनु भएको छ । उहाँको यही असहमति र फरक मतका कारण तत्कालिन स्वास्थ्य मन्त्रीलाई पनि बर्खास्त गर्नुभएको थियो । मन्त्रीले लकडाउन लगाउने चाहने तर राष्ट्रपति बोल्सोनारोले भने लकडाउन लगाउन नहुने भनेकाले ती मन्त्री बर्खास्तीमा परेका हुन् ।
लकडाउन खुकुलो बनाएकै कारणले ब्राजिल अहिले अरु धेरै देशहरुलाई समेत उछिनेर कोरोना भाइरसबाट संक्रमित हुने दोस्रो धेरै संख्या रहेको देशमा पुगेको छ । पछिल्लो विवरण अनुसार ब्राजिलमा अहिलेसम्म ६ लाख ४६ हजार ६ जना सङ्क्रमित भएका छन् भने, ३५ हजार ४७ जनाको मृत्यु भइसकेको छ ।
सवैभन्दा धेरै संक्रमित र मानवीय क्षति भएको संयुक्त राज्य अमेरिकाले पनि यसअघि नै डब्लुएचओबाट बाहिरिने घोषणा गरेको थियो भने डब्लुएचओलाई दिदै आएको सहयोग कटौती गरेको थियो ।
अमेरिकाको निर्णय आएको केही हप्तापछि दोस्रो धेरै संक्रमित र मानवीय क्षति भोगेको ब्राजिलले पनि उस्तै चेतावनी दिएपछि विश्वभरी नै नयाँ तरंग सृजना गरेको छ ।

Brazil's President Jair Bolsonaro puts on a mask during a press conference on the new coronavirus at the Planalto Presidential Palace in Brasilia, Brazil, Wednesday, March 18, 2019. For most people COVID-19 causes mild or moderate symptoms. For others, especially the elderly and people with existing health problems, it can cause many other serious illnesses, including pneumonia. (AP Photo/Andre Borges)