एमसीसीबारे छलफल गर्न भोलि ४ बजे नेकपाको सचिवालय बैठक

Politics

२०७७ जेष्ठ २५ : काठमाडौँ  – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का बारेमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ ।

बैठक सोमबार (भोलि) अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले बैठकको बारेमा सचिवालय सदस्यहरुलाई सूचना आए पनि विषय भने नखुलाइएको बताउनु भयो । अघिल्लो सचिवालय बैठकले एमसीसीबारे छलफल गर्न छिट्टै अर्को सचिवालय बैठक बोलाउने निर्णय गरेअनुरुप नै यो बैठक बोलाइएको उनको भनाइ थियो ।

‘नेकपाको सचिवालय बैठक भोलि दिउँसो ४ बजेका लागि बोलाइएको छ’, नेपालखबरसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘अघिल्लो सचिवालय बैठकले एमसीसीबारे छलफल गर्न छिट्टै सचिवालय बैठक बोलाउने निर्णय गरेको थियो, त्यही अनुरुप यो बैठक बोलाइएको होला ।’

उहाँले बैठकमा वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको एमसीसी अध्ययन कार्यदलले पेस गरेको प्रतिवेदनमाथि छलफल हुने बताउनु भयो ।

नेकपाभित्रको आन्तरिक विवादले गर्दा एमसीसी सम्झौता संसदमा पेस हुन सकेको छैन । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सो सम्झौता तत्काल पास गर्नुपर्ने पक्षमा छन् भने अन्य नेताहरु संझौता हुबहु पारित गर्न नहुने, परिमार्जनपछि मात्रै पास गर्गुपर्ने पक्षमा छन् ।