२०७७ जेष्ठ २६ : काठमाडौँ – चीनमा विगत २४ घण्टाको अवधिमा ६ जना कोरोना संक्रमित फेला परेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार विदेशबाट यात्रा गरेर हाइनान प्रान्तमा आएका ६ जनामा कोरोना संक्रमण देखिएको हो । नेशनल हेल्थ अमिसनका अनुसार पाँच जना संक्रमितलाई कुनै पनि लक्षण देखिएको छैन । यसको एक दिन अगाडि चीनमा तीन जना कोरोना संक्रमित फेला परेका थिए ।
जोन्स हप्किन्स विश्वविद्यालयको वेबसाइटमा राखिएको तथ्यांक अनुसार चीनमा ८४ हजार भन्दा बढी संक्रमित छन् भने हालसम्म ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमण सबैभन्दा पहिले सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको हुवेई प्रान्तको वुहान शहरमा फेला परेको थियो ।
यसैविच विश्वमा कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ५ हजार नाघेको छ । सोमबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ३७५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख ५ हजार ७४ पुगेको छ ।