अर्को सालदेखि २ वटा रेल नेपाली झण्डासहित दौडिने : यातायात मन्त्रि

Politics

२०७७ जेष्ठ २६ : काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री बसन्तकुमार नेम्वाङले अर्को वर्षदेखि जनकपुर जयनगर रेल चल्ने बताउनु भएको छ ।

सोमबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले  दुईवटा रेल खरिद प्रक्रिया अघि बढिसकेको बताउनु भयो ।  ‘नेपालको झण्डा फहराएर आगामी वर्ष जनकपुर जयनगरका चल्ने कुरा जानकारी गराउन चाहन्छु’ उहाँले भन्नु भयो ।

मन्त्री नेम्वाङलाई कांग्रेस सांसद सञ्जयकुमार गौतमले तीन वर्षदेखि सुरुङ मार्ग, रेल मार्ग, जलमार्गको कुरा सुन्दै आएपनि केही उपलब्धी नभएको भन्दै ‘रेलमार्ग र जलमार्गमा कति बजेट छुट्याउनुभएको छ भनी प्रश्न गरेका थिए । जवाफमा मन्त्री नेम्वाङले भने, ‘पूर्व पश्चिम रेलमार्गको डीपीआर सम्पन भएको छ । निर्माण गर्ने बेलामा अपडेट गरिन्छ ।’

 उहाँले  चालु आर्थिक वर्षमा रहेका योजनाहरुलाई निरन्तरता दिइएको तर, केहीबाहेक नयाँ योजना समेट्न नसकिएको बताउनु भयो  । ८० वटा राजमार्गलाई निरन्तरता दिँदै पूर्वपश्चिम राजमार्गलाई ४ लेनको बनाउन बजेट छुट्याइएको मन्त्री नेम्वाङले बताउनु भयो ।

बजेटले भौगोलिक सन्तुलन कायम गर्ने परम्पराको थालनी गरेको पनि उनले दावी गरे । खासगरी प्रत्येक निर्वाचन क्षेत्रमा १० करोड बराबरको खरिद प्रक्रिया अगाडि बढाउने र रणनीतिक सडकमा बजेट विनियोजन गरिएको उहाँले बताउनु भयो ।

‘यस वर्ष प्रत्येक निर्वाचन क्षेत्रमा १० करोड बराबरको खरिद प्रक्रिया अगाडि बढ्नुका साथै निर्वाचन क्षेत्र रणनीतिक सडकमा बजेट विनियोजन गर्नुले भैगोलिक सन्तुलन कायम गर्ने परम्पराको थालनी गरिएको व्यहोरा जानकारी गराउन चाहन्छु’ उहाँले भन्नु भयो ।

नागढुङ्गा राजमार्गलाई अगाडि बढाउन र अन्य सात वटा सुरुङका लागि बजेट, आगामी वर्ष काठमाडौँमा फ्लाई ओभर निर्माण गर्नको निम्ति बजेटको व्यवस्था गरिएको बताउनु भयो  ।

गुस्तरहीन काम भएको, राष्ट्रिय गौरवका आयोजनाको काम सुस्त भएको, समयमै निर्माण सम्पन्न गर्न ध्यान दिनुपर्ने, दुई नम्बर प्रदेशमा भौतिक पूर्वाधारतर्फ बजेट कम भएको सांसदको गुनासा र जिज्ञासा थिए ।