कर्मचारीहरुको हक हितका लागि नीति निर्माण गर्ने कार्यमा सक्रिय हुनुपर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारीका हकहितमा भन्दा आफ्नै सेवा सुविधामा केन्द्रीत छन् । मन्त्री र सचिव आफ्नै सेवा सुविधा बढाउने नयाँ नयाँ गाडी चढ्ने र सोफा फेर्ने काममै मग्न छन् । कोरोनाभाइरस महामारीका कारण अत्यावश्यक बाहेकका शीर्षकमा बजेट रोक्का गरे पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने फेरि फेरि आधा दर्जन गाडी चढ्ने र सचिवका लागि महँगा महँगा फर्निचर, सोफा फेर्ने काम गरिरहेको छ । अर्थमन्त्रालयको परिपत्र विपरीत मन्त्री फेरि फेरि मंहगो गाडी चढ्ने र सचिव यही कहरमा सोफा र फर्निचरहरु फेर्ने काम गरिरहेका छन् ।
क्याविनेटका दुई दर्जन मन्त्रीहरुमध्ये सबैभन्दा महंगो गाडी चढ्दै आएका मन्त्री हुन् हृदयेश त्रिपाठी । उनी फेरि फेरि तीन वटा गाडी चढ्दै आएका छन् भने, ६ वटा गाडी उनको निजी तथा स्वकीय सचिवालयका कर्मचारीले प्रयोग गर्दै आएका छन् ।मन्त्री त्रिपाठी बा २ झ ४१२९, बा २ झ २५०६ र बा २ झ १०७५ नम्बरको गाडी प्रयोग गर्दै आएका छन् । त्रिपाठी टोयोटाको ल्यान्ड क्रुजर चढ्छन्। हाल यसको बजार मूल्य ४ करोड ५२ लाख रुपैयाँसम्म पर्छ भने यो गाडी ४ हजार ४ सय ६१ सिसी इन्जिन क्षमताको रहेको छ ।
सचिव सूर्य गौतमले आफ्नो कार्यकक्षमा ६ लाख ७५ हजार रुपैयाँको सोफा र टेबल फेर्न लगाएका छन् ।अर्थ मन्त्रालयको परिपत्र विपरित मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेठमा आफ्नो कार्यकक्षमा ६ लाख ७५ हजारको सोफा र फर्निचर जडान गरेको छ ।