काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षाको अन्योलता अब धेरै दिन नरहने बताएका छन् ।
मंगलबार मन्त्रालयगत बजेट छलफलमाथि उठेका प्रश्नको संसदमा जवाफ दिँदै मन्त्री पोखरेलले परीक्षा सन्दर्भमा विद्यार्थी तथा अविभावकमा रहेको अन्योलतालाई अब धेरै दिन रहने छैन भन्ने विश्वास दिलाउन चाहन्छु ।’
कोभिड– १९ का कारण कक्षा १० ११ र १२ तथा उच्च शिक्षाका विभिन्न तहको परीक्षा हुन सकेको छैन । पहिलो समेष्टर सकेकालाई परीक्षा नलिएर पनि अर्को सेमेष्टर पढ्न दिने लगायतका तयारी भएको पनि उहाँले बताउनु भयो । ‘शैक्षिक क्षेत्र क्षति हुन नदिन अन्तिम गृहकार्य छ’ उहाँले भन्नु भयो ।
सरकारले परम्परागत शिक्षाको मोडललाई परिवर्तन गर्ने गरी सोचिरहेको र त्यो अवसर कोभिड –१९ ले दिएको पनि उहाँले बताउनु भयो । शिक्षाको तीन विषयमा रुपान्तरणको अवसर प्राप्त भएको उहाँको भनाइ छ ।
मन्त्री पोखरेलले पहिलो अवसरको रुपमा विद्यार्थीको स्वअध्ययन र बुझाइबाट शिक्षा लिने बानीलाई लिएका छन् । सिकाइमा केन्द्रित हुँदा शिक्षक, पुस्तक इन्टरनेट, मिडिया आदिको प्रयोगका विषयमा नयाँ ढङ्गले सोच्ने र व्यवहारमा उतार्ने, घर परिवारलाई नै लघु विद्यालय बनाउन प्रेरित गरेको बताउनु भयो ।
दोस्रो अवसरका रुपमा शिक्षाका लागि प्रत्यक्ष आमुन्ने सामुन्ने हुनुको विकल्प उल्लेख गरेका छन् । यसले खुला र दूर शिक्षामा जान प्रेरित गरेको मन्त्री पोखरेलले बताए । तेस्रो अवसरको रुपमा सूचना र प्रविधिको प्रयोग तथा ज्ञान हस्तान्तरण गर्ने विद्यमान शिक्षा पद्धतिको रुपान्तरण गरी ज्ञान निर्माणमा केन्द्रित हुनुलाई मन्त्री पोखरेलले उल्लेख गरेका छन् ।
रेडियो टेलिभिजन, होम स्कुललिङको तयारी भएको र कार्यान्वयन गर्न तीनै तहको सरकारलाई अनुरोध गरिएको उहाँले बताउनु भयो ।