काठमाडौँ – जिल्ला प्रहरी कार्यालय कैलालीले तीन जना किशोरीलाई बलात्कार गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो टीकापुर नगरपालिका वडा नम्वर १ स्थित रानीकुलो किनारमा १४ वर्षिया तीन किशोरीमाथि जवरजस्ती करणी गरेर फरार भएका चार जनालाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए ।
प्रहरीले टीकापुर नगरपालिकाका १८ बर्षीय सन्दिप ठकुल्ला, २१ बर्षीय दिपक बुढा, १९ बर्षीय डम्बर ठकुल्ला र २० बर्षीय दिपक ठकुल्लालाई पक्राउ गरेको हो । पीडित बालिकाहरूले जिल्ला प्रहरी कार्यालय कैलालीको १०० नम्बरको कन्ट्रोलमा फोन गरेर घटनाको जानकारी गराएपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनीहरू मध्येका एक जनालाई घटनास्थलबाटै पक्राउ गरेको थियो ।
प्रहरी नियन्त्रणमा लिइएका ती युवकको जानकारीका आधारमा अन्य तीन जनालाई घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुर जनाएको छ । प्रहरीका अनुसार उनीहरूले पीडित बालिकाहरूलाई डर धम्की दिइ बलात्कार गरेका हुन् ।
फोनमार्फत चिनजान भएका उनीहरूलाई ती युवकहरूको टोलीले घुम्न जाने बहानामा बोलाएर बलात्कार गरेको बताइएको छ । उनीहरुमाथि कैलाली जिल्ला अदालतबाट ७ दिनको म्यादथप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक विष्टले बताए ।