Border Talks Nepal India

सीमा विवादबारे भारतीय विदेश मन्त्रालयको अस्पष्ट जवाफ

International

काठमाडौँ – नेपालको अतिक्रमित भू–भागलाई लिएर भारतीय विदेश मन्त्रालयले सञ्चारमाध्यममा वार्ता गर्ने जनाए पनि संवादलाई टार्ने मनस्थितिमा भारत देखिएको छ । तर मिचिएको भूमि फिर्ताका लागि सरकारले अघि सारेको कदमबाट पछि हट्न नहुने आवाज मुखरित भइरहेको छ ।

नेपालले  कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक भएसँगै भड्किएको भारतले सीमा विवाद संवादबाट समाधान गर्नुपर्ने प्रतिक्रिया दिएको थियो ।

तीन साताअघि मात्र सीमामा देखिएका समस्या समाधानमा द्विपक्षीय वार्ताको विकल्प नरहेको बताउने भारतले संवाद अघि बढाउन भने आलटाल गरिरहेको छ । भारतीय विदेश मन्त्रालयले बिहीवारको नियमित पत्रकार सम्मेलनमा यसबारे अस्पष्ट जवाफ दिएको छ ।

गत वर्षको कात्तिकमा भारतले नेपाली भूभाग आफ्नो राजनीतिक नक्सामा पारेको थियो । नेपालले त्यति वेलादेखि नै संवादको पहल गरे पनि भारतले विभिन्न बहाना बनाएर टारिरहेको छ । चीनसँग भने उसले कोरोना महामारीकै बिच पनि वार्ताको प्रयास गरेको देखिन्छ । एकातिर भारत र नेपालको सभ्यता, संस्कृति र रोटीबेटीको सम्बन्ध देखाएर ‘सेन्टिमेन्ट क्याच’ गर्ने अर्कातिर सीमा मिच्ने भारतको द्वैधचरित्र बुझिनसक्नुको छ ।

सीमा विवादमा दुईपक्षीय वार्ता हुन नसके पनि नेपालले अतिक्रमित भू–भाग समेटेर नक्सा सावर्जनिक गर्ने र प्रमाण संकलनका लागि विज्ञ समूह गठन गर्ने लगायतका तयारी गरिसकेको छ । तर यसबारे भारतको कुनै पहलकदमी देखिएको छैन, न त उच्चस्तरीय व्यक्तिहरुको धारणा नै आएको छ । त्यसैले भूमि फिर्ताका लागि आफूले उठाएको कदममा नेपाल धैर्य र दृढतापूर्वक उभिनुपर्ने देखिन्छ ।