काठमाडाैँ, १ असार । आगामी आर्थिक बर्ष २०७७-०७८ का लागि सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार बराबरको बजेट विनियाेजन गरेको छ।
आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले सोमबारको प्रदेश सभा बैठकमा आगामी आर्थिक बर्षको बजेट सार्बजनिक गरेका हुन। सार्वजनिक गरिएकाे बजेटमा चालु खर्चतर्फ १४ अर्ब १८ करोड ७८ लाख अर्थात कुल बजेटको साढे ४२ प्रतिशत र पुँजीगत खर्चतर्फ १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार अर्थात कुल बजेटको ५० दशमलब दुई प्रतिशत बजेट विजियोजन भएकाे छ।
स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिचाँई, उर्जा, तटबन्ध तथा पूर्वाधार विकासलाई प्रदेश सरकारले प्राथमिकता दिएको छ। सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोडका दरले ९६ करोड बजेट विनियोजन गरेकाे छ। नेपाल सरकारबाट १४ अर्ब २१ करोड ८२ लाख रुपैयाँ प्राप्त हुने अनुमान प्रदेश सरकारले गरेकाे छ। चालू आवका लागि सोही शीर्षकमा नेपाल सरकारबाट प्रदेशले १४ अर्ब ५० करोड ३० लाख रुपैयाँ अनुदान प्राप्त गरेको थियो ।
त्यस्तै प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा ३ अर्ब २६ करोड ६६ लाख बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षमा ५ सय २८ किलोमिटर सडक निर्माण गर्न ४ अर्ब ७२ करोड बजेट विनियोजन गरेको बताए। त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका ९ वटै जिल्लाका लागि १ अर्ब ४१ करोड सिँचाइ क्षेत्रमा विनीयाेजन गरेकाे छ।