पूर्वकप्तान सागर थापासहित ६ जनालाई सर्वोच्च अदालतबाट सफाइ

Sports

काठमाडौँ – सर्वोच्च अदालतले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित ६ जनालाई सफाइ दिएको छ । अन्तर्राष्ट्रिय खेलहरुमा ‘म्याच फिक्सिङ’को आरोपसहित राज्यविरुद्धको अपराधको मुद्दामा सर्वोच्चले फैसला सुनाएको हो ।

२ वर्षअघि विशेष अदातलबाट सफाई पाएका थापासहित ५ जनाको मुद्दा सरकारी वकिलले सर्वोच्चमा लगेका थिए । त्यसपछि उनीहरुको लागि सर्वोच्च अदालतबाट न्यायको प्रतीक्षा थियो । आज सर्वोच्चले समेत सफाइ दिएपछि सागरले नेपाली फुटबलमा कम्व्याकको पर्खाइ रहेको बताए ।  थापाले एसियाली फुटबल महासंघसँग प्रतिबन्ध फुकुवा गर्न एन्फाबाट पहल गर्नुपर्ने बताए ।

महानगरीय प्रहरी अपराध महाशाखाले २०७२ साल असोज २७ गते म्याच फिक्सिङको आरोपमा सागरसहित पूर्वगोलकिपर रितेश थापा, अञ्जन केसी, विकास सिंह क्षेत्री, उपकप्तान सन्दीप राईलाई पक्राउ गरेको थियो ।

उनीहरुविरुद्ध २०७२ कात्तिक २२ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । उनीहरूविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइए पनि कात्तिक २४ मा सबै धरौटी बुझाएर छुटेका थिए । अञ्जन र रितेशले ५ लाख, सागरले १ लाख ५० हजार र अन्य खेलाडीले ५० हजार धरौटी तिरेका थिए ।