एन्फाले प्रस्ताव गरेको १ लाख डलरको राहत कार्यक्रम फिफाद्धारा स्विकृत

Sports

काठमाडौँ – कोरोनाबाट प्रभावित फुटबलकर्मीलाई राहत दिन अखिल नेपाल फुटबल संघ एन्फाले प्रस्ताव गरेको १ लाख डलरको राहत कार्यक्रमलाई फिफाले स्विकृत गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट प्रभावित फुटबलसंग सम्बन्धित व्यक्ति तथा संस्थालाई राहतका लागि एन्फाले प्रस्ताव गरेको १ लाख डलरको कार्यक्रमलाई फिफाले स्विकृती प्रदान गरेको हो । एन्फाले आफुसंग आबद्ध जिल्ला सदस्य, संघ, खेलाडी तथा अफिसियललाई दिने आर्थिक प्याकेजको कार्यक्रम फिफा समक्ष प्रस्ताव गरेको थियो ।

एन्फाले जिल्ला, संघ तथा क्लबहरुलाई समान ७५ हजार तथा राष्ट्रिय टिमका खेलाडी तथा रेफ्रीलाई समान १५ हजार रुपैयाँ राहत दिने प्रस्ताव गरेको थियो । एन्फाले पेश गरेको राहत सम्बन्धि प्रस्तावलाई फिफाले स्विृकत गरेको हो । फिफाले राहत सम्बन्धि प्रस्ताव स्विकृत गरेसंगै एन्फालाई राहत वितरण गर्ने बाटो खुलेको छ । कोरोनाबाट प्रभावित फुटबल समुदायलाई सहयोग गर्न भन्दै फिफाले राहत प्रस्ताव पेश गर्न सम्पूर्ण सदस्य राष्ट्रसंग अपिल गरेको थियो । फिफाले एक लाख डलरको सिमा तोक्दै राहत कार्यक्रम पेश गर्न सदस्य राष्ट्रसंग अपिल गरेको थियो ।

कोरोनाका कारण फुटबल सम्बन्धि गतिविधि तथा कार्यक्रम स्थगित अवस्थामा छन् । घरेलु फुटबल सञ्चालनको समय अझै तय हुने सकेको छैन । तर एन्फाले विश्वकप छनोटको खेलको तयारीकालागि अर्को महिनाबाट राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्ने निर्णय गरिसकेको छ ।