काठमाडौँ – कोरोनाको महामारीपछि कतारबाट नेपाल फर्कनेहरुका लागि दोस्रो चरणको उडान तालिका सार्वजनिक भएको छ । नेपाल एयरलाइन्सले असार ६ र हिमालय एयरलाइन्सको असार ८ र १० गते कतारबाट नेपाल उडान भर्ने कतारमा रहेको नेपाली दूतावासले विज्ञप्तिमार्फत् जनाएको छ ।
उक्त ३ वटा उडानका लागि सम्भावित यात्रुहरुको सूची कतार सरकारको सम्बन्धित निकायबाट स्वीकृत भइसकेको विज्ञप्तिमा जनाइएको छ । चार्टर फ्लाइटको हवाई भाडा अमेरिकी डलर ३९२ तोकिएको छ ।
कतारमा हाल निजी स्वास्थ्य संस्थाहरुलाई कोराना परीक्षण गर्ने अनुमति नभएकाले दोहा–काठमाडौं यात्रा गर्ने क्रममा कोरोना संक्रमण नभएको प्रमाणपत्र साथमा राख्न सम्भव नभएको सन्दर्भमा विमानस्थलमा ज्वरो मापन गरिने साथै “ मोबाइल एप” मा हरियो रंग भएका व्यक्तिले मात्र विमानस्थलमा प्रवेश गर्न पाउने भएकाले अनिवार्य रुपमा उक्त एप सञ्चालनमा ल्याउन कतारमा रहेका नेपालीहरुलाई दूतावासले अनुरोध गरेको छ । २० जुनको नेपाल एयरलाइन्सको चार्टर उडानमार्फत् यात्रा गर्ने सम्भावित १७४ यात्रुहरु रहेका छन् ।
२२ जुनको हिमालयन एयरलाइन्समा यात्रा गर्ने सम्भावित १७४ यात्रु रहेका छन् भने २४ जुनको हिमालयन एयरलाइन्समा यात्रा गर्ने १७३ जना सम्भावित यात्रुहरु छन् । नेपाल एयरलाइन्सको अर्को उडान मिति तय नभए पनि सम्भावित १८४ यात्रुहरुको नामावली दूतावासले सार्वजनिक गरेको छ ।