भक्तपुरमा ६५ प्रतिशत रोपाइँ सकियो

News

कोरोना जोखिमका बीच यहाँ किसानलाई रोपाइँको चटारो परेको छ । हरेक वर्ष असारको पहिलो सातापछि रोपाइँ शुरु हुने यहाँ यस वर्ष असारको पहिलो साता नै रोपाइँको अन्तिम चरणमा पुग्ने भएको छ ।

यस वर्ष मनसुन सक्रिय हुनुअघि नै पर्याप्त वर्षा भएपछि कोरोनाको त्रास र लकडाउनबीच गत जेठ १५ देखि नै शुरु भएको रोपाइँ अन्तिम चरणमा पुगेको हो ।

विगतका वर्षझैँ रोपाइँ ढिलो हुने सोचले ढिलो बीउ राखेका किसानले खेतमा पानी भरिएपछि छोटो बीउसमेत रोप्न थालेका छन् । सूर्यविनायक नगरपालिका–१० चित्तपोलका राजेन्द्र थापाले यस वर्ष चित्तपोल, भङ्गाल क्षेत्रको रोपाइँ सकिन लागेको बताउनुहुन्छ । जेठमै पर्याप्त पानी वर्षा भएपछि लकडाउनकै बेलामा किसानले रोपाइँ शुरु गरेको जानकारी दिनुभयो ।

लकडाउनका बेलामा बीउ किन्न समस्या भए पनि नगरपालिकाले किसानलाई अनुदानमा बीउ वितरण गरेको र कतिपय किसानले आफ्नै घरमा बीउ सञ्चित गरी राखेकाले बीउको अभाव नभएको उहाको भनाइ छ ।

जिल्लाका अधिकांश काठ क्षेत्रमा रोपाइँ सकिएको छ भने बजार क्षेत्रमा धमाधम रोपाइँको चटारो परेको छ । चाँगुनारायण नगरपालिका–९ ताथलीका सानुभाइ गिरी यसवर्ष रोपाइँ चाँडो हुँदा रोपाइँ सकिने अवस्थामा पुगेको बताउनुभयो ।

यस वर्ष धान दिवस अर्थात् असार १५ सम्म भक्तपुरका सबै ठाउँमा रोपाइँ सकिने जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल बताउनुहुन्छ । चार हजार ६४८ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ । यहाँ प्रतिहेक्टर छ दशमलब दुई टन धान उत्पादन हुने गरेको तथ्याङ्क छ ।