भारतको पश्चिम बङ्गाल सरकारले मालवाहक गाडी भन्सारमै रोक्यो

International

काठमाडौँ – नेपालका लागि कोलकातास्थित नेपाली महावाणिज्यदुतावासको आग्रह पत्रलाई बेवास्ता गर्दै पश्चिम बङ्गाल सरकारले मालवाहक गाडी भन्सारमै रोकिदिएको छ ।

केन्द्रीय सरकारको निर्देशनविपरीत पश्चिम बङ्गाल राज्य सरकारले काँकडभिट्टा (रानीगन्ज) पानीटंयाङ्की नाकाबाट भारत तथा बङ्गलादेश निर्यात हुने नेपाली वस्तु ठप्प पारेपछि नेपाली महावाणिज्यदुतावासले ध्यानाकर्षण गराउँदै नाका सुचारु गराउन पत्र लेखेको थियो । नेपाली महावाणिज्यदुतावासको आग्रहलाई समेत बेवास्ता गर्दै बङ्गाल सरकारले भारत तथा बंगलादेश निर्यात हुन लागेका सामान बोकेका २२ वटा ट्रक मेची पुलमा रोकेर राखेका छन् ।

बिहीबार दिउँसोदेखि बङ्गाल सरकारले  मेची पुलको सीमा नाकामै ट्रक रोकेर राखेका हुन् । ती ट्रकहरूमा नेपाली वस्तु चिया, अलैंची र अम्रिसो लोड गरिएको छ।  चिया र अलैंची भारत तथा अम्रिसो बङ्गलादेश निर्यात हुँदै आइरहेको छ । मेची पुलमा ट्रक रोकिँदा आयातमा समेत समस्या भएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाबाट व्यवसायीले जाँच पास गरी भारत तथा बङ्गलादेश निर्यातका लागि ट्रकहरू पठाएको थियो । तर, बङ्गाल सरकारले आदेश नआएको भन्दै भारतीय सुरक्षाकर्मी र भन्सार कर्मचारीले मेची पुलमै गाडीहरू रोकिदिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।