काठमाडौं। नेपाल लगानी बोर्डको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको नियुक्तिका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ। बोर्डले सीईओका लागि इच्छुक व्यक्तिहरूबाट निवेदन माग गरी सूचना प्रकाशन गरेको छ।
लगानी बोर्डका यसअघिका सीईओ महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको पद खाली छ।
बोर्डले आज सूचना प्रकाशन गरेर योग्यता पुगेका सम्भावित उम्मेदवारहरूले १५ दिन भित्रमा निवेदन पेश गर्न भनेको छ।
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत छनाेटको लागि लगानी बोर्डका उपाध्यक्षको संयोजकत्वमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सरकारले तोकेका अर्का एक व्यक्ति सदस्य रहने गरी छनाेट समिति गठन गर्ने व्यवस्था छ। अहिले लगानी बोर्डको उपाध्यक्ष अर्थमन्त्री डा. युवराज खतिवडा छन्।
योग्यता :
लगानी बोर्डको सीईओको योग्यता भने सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ मा तोकिएको छ। जसअनुसार, अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानून, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुुनुपर्छ।
त्यसैगरी, परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र तथा औद्योगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव हासिल गरेको व्यक्ति लगानी बोर्डको प्रमुख कार्यकारीका नियुक्त हुन योग्य हुने कानूनी व्यवस्था छ।
प्रमुख कार्यकारीका लागि निवेदन दिन चाहने व्यक्तिले वैयक्तिक विवरण, योग्यताको विवरण, कार्यअनुभवको विवरण, कार्ययोजनासम्बन्धी प्रस्ताव र प्रमुख कार्यकारी अधि���ृत पदमा नियुक्तिका लागि आफू उपयुक्त हुने आधारसहित निवेदन १५ दिन भित्रमा पेश गर्नुपर्छ।