संक्रमित थपिन थालेपछि लकडाउन पुनः कडा हुन सक्ने !

News

कोरोना संक्रमितको संख्या नेपालमा दिनदिनै बढिरहेको छ । एकजनालाई कोरोना संक्रमणबाट शुरु भएको लकडाउन भएको तिन महिन पुग्न लागेको अवस्थामा सात हजार माथी कोरोना संक्रमित पुगिसकेका छन् ।

विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण गत वर्षको चैत १२ देखि सुरु भएको लकडाउन ८० दिनपछि लुजडाउनमा क्रमशः परिवर्तित हुँदै गएपनि जनजीवन भने सामन्य बन्न सकेको छैन् ।
सार्वजनिक सवारी सञ्चालन भएका छैनन् भने निजि सवारी पनि जोर बिजोर प्रणाली सहितका नियमका आधारमा सञ्चालित छन् ।यस्तोमा लकडाउन पुनः कडाइ हुनसक्ने आंकलनहरु सार्वजनिक भएका छन् ।

कोरोना  नियन्त्रणका लागि गरिएको लकडाउन ३२ जेठसम्मै जारी रहँदा व्यवसायी र नागरिकले २५ जेठबाटै उल्लंघन गर्न थाले सँगै सरकार बाध्य बनेर लकडाउनलाई लुजडाउनमा परिवर्तित गरेपनि प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ मन्त्रालयका पदाधिकारी तथा नेपाली सेना समेत लकडाउन लुजडाउन गर्ने सरकारको निर्णय प्रति सकारात्मक नभएको बताइन्छ ।

लकडाउन क्रमश: खुल्दै गएपनि सर्वसाधारणले सार्वजनिक दुरी कायम गर्न नसकेको तथा लुजडाउनलाई सरकारको विरोध गर्ने अवसरको रूपमा प्रयोग गरिएको भन्दै सरकारले पुनः लकडाउनमा कडाइ गर्ने सम्बन्धमा छलफल थालेको बताइएको छ ।

सुरक्षात्मक उपाय अपनाएर बजार खोल्न दिने र कम जोखिमयुक्त क्षेत्रमा निजि सवारी चल्न दिने निर्णय गरेपनि नागरिकले सुरक्षात्मक उपाय नअपनाइएको तथा बिहान बेलुकाको पिक आवरमा सुरक्षाकर्मीले नियमन नै गर्न नसकिने गरी सवारीको चाप बढेको र यसले कोरोनाको संक्रमणको जोखिम बढेको भन्दै पुनः लकडाउन कडाइ गर्नेबारे पुर्नविचार गर्न सरकारी अधिकारी जुटेको श्रोतबाट जानकारी प्राप्त भएको छ।

लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमितको संख्यामा निरन्तर वृद्धि भएको तथा विदेशबाट समस्यामा परेका नागरिकको उद्दार गर्न सुरु भएसँगै कोरोना नियन्त्रणमा जटिलता आउने हुँदा पनि लकडाउनलाई कम्तीमा १५ दिन कडाइ गर्न सरोकारवालाले सुझाव दिएका छन् ।

पुनः लकडाउनमा कडाइ गरे सँगै नागरिकले उल्लंघन गर्ने सम्भावनामा पनि उत्तिकै छलफल भैरहेको जनाइएको छ ।

अर्कोतिर १६ असारभित्रै पास गरिसक्नुपर्ने एमसीसीलाई लिएर सत्तारुढ पार्टीभित्रै विवाद बढिरहेको समयमा सत्तारूढ पार्टीभित्रबाटै हुनसक्ने विरोध प्रदर्शन तथा अन्य संघ संगठन बाट हुनसक्ने प्रदर्शनले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने तथा सरकारले पनि समस्या झेल्नुपर्ने अवस्था आउन सक्ने भन्दै त्यस्तो अवस्था आउन नदिन पनि लकडाउन कडाइ गर्न लागिएको समेत स्रोतले दाबी गरेको छ ।

सरकारले कर असुल्ने समयको लागि मात्र लुजडाउन गरेको आंकलन सर्वसाधारणमा व्याप्त छ।