कोरियाली जेलमा रहेका १५ नेपाली शनिबार स्वदेश फर्किँदै

International

काठमाडौँ – तीन महिनादेखि कोरियामा जेलमा रहेका १५ जना नेपाली  शनिबार स्वदेश फर्किन पाउने भएका छन् । विभिन्न कारणले पक्राउ परेका उनीहरुलाई नेपालले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्धका कारण यहाँको सरकारले नेपाल डिपोर्ट गर्न सकेको थिएन ।

कोरियामा अवैधानिक रुपमा बसेका तथा अरुकै पासपोर्टमा गलत बाटो हुँदै कोरिया आएका उनीहरुलाई यहाँको सरकारले पक्राउ गरेको थियो ।  यहाँ अलपत्र नेपालीलाई स्वदेश फर्काउन गैरआवासीय नेपाली संघले समन्वय गरेर व्यवस्था मिलाइएको कोरियन एयरमा उनीहरुलाई नेपाल पठाउन लागिएको संघका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिनुभयो ।

दूतावासको सम्पर्कमा आएका १४ जना र संघको सम्पर्कमा आएका १ जना गरी १५ जना फर्किन पाउने भएपनि १ जना भने ढिलो सम्पर्कमा आएका कारण अस्पतालले कोरोना रिपोर्ट समयमा दिन नसक्ने बताएपछि फर्किन नपाउने भएका छन् ।

उनीहरूबाहेक अन्य तीन जना नेपाली कोरियाको जेलमा रहेको अनुमान गरिएपनि उनीहरुलाई सम्पर्कमा ल्याउन नसकिएको सुवेदीले बताउनु भयो ।