एमसीसी अनुमोदन गरे देशमा आँधीबेरी आउने राप्रपा निकट विध्यार्थी संगठनको चेतावनी

Politics

जनताको आक्रोश नजरअन्दाज गर्दै केही शीर्ष नेताको मोर्चाबन्दीमा एमसीसी अनुमोदन गरे देशमा आँधीबेरी आउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट विद्यार्थी संगठनले चेतावनी दिएको छ ।

बन्दाबन्दीको समयमा जनतालाई कफ्र्यूमा थुनेर, व्यापक छलफल नगरी संसदबाट एमसीसी पास नगर्न राप्रपासम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) ले सम्बन्धित सबैलाई कडा चेतावनी दिएको छ । ‘अन्यथा आन्दोलनको आँधीबेरी ल्याउन बाध्य हुने,’ राप्रविसंले आइतबार विज्ञप्ति जारी गर्दै बताएको छ ।

कोभिड–१९ व्यवस्थापनमा सरकारको चरम लापरवाही र असफलताका साथै भ्रष्टाचारविरुद्ध युवाहरूद्वारा स्वतःस्फूर्त संचालनमा आएको आन्दोलनलाई सहयोग र समर्थन गर्ने राप्रविसंका अध्यक्ष धनसुर शाहीले विज्ञप्तिमा जनाएका छन् ।

विद्यार्थी संगठनको राजधानीमा उपलब्ध पदाधिकारीको आइतबार सम्पन्न वैठकले तत्कालीन राप्रपा निकट विद्यार्थी संगठनसँग समायोजनका लागि वार्ता गर्न सात सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता समितिको संयोजकमा उपाध्यक्ष युवराज राना, सदस्यहरूमा डम्बरजङ्ग शाही, कुमारी लामा, विजय काफ्ले, एन्टीसंघर्ष राई, बेलबहादुर थापा र भूपेन्द्र शाही छन् ।

दुई राप्रपा एकतापछि गठन भएको केन्द्रीय कार्य समितिमा यूवाहरूको न्यून उपस्थिति रहेकोमा विद्यार्थी संगठनले चिन्ता व्यक्त गरेको छ । केन्द्रीय समितिमा ५० प्रतिशत यूवा सहभागिताको माग गर्दै राप्रपाका तीन अध्यक्ष पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाको विज्ञप्तिमा ध्यानाकर्षण गरिएको छ ।