सर्लाहीमा नेकपा कार्यकर्ताको अपहरणपछि हत्या

News

सर्लाहीमा एकजना ब्यक्तिको अपहरणपछि हत्या भएको छ । शनिबार जिल्लाको पश्चिम क्षेत्रमा पर्ने  रामनगर गाउँपालिका वडा न- ४  बौहर्वा टोलका  ६० वर्षिय रामजनम रायको अपहरणपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ ।

प्रहरी चौकी बौहर्वाको  छेउमै घर भएका रायको शव आइतवार दिउँसो बाँसघारीमा  गमछाले हातखुट्टा बाँधेर  गोली हानी  हत्या गरेर फालेको अवस्थामा  फेला परेको रामनगर गाउँपालिका अध्यक्ष  कृष्ण प्रसाद बर्माले जानकारी दिए ।

सर्लाही प्रहरीका  प्रवक्ता डीएसपी कुँवरले भने मृतक रायको हातखुट्टा बाँधेर घरेलु हतियार प्रहार गरी हत्या गरिएको घटनास्थलको प्रकृतिबाट देखिएको बताउनु भएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी कुवँरले बताए ।

 मृतकको  घर घटनास्थल भन्दा एक किलोमिटरको दुरीमा  पूर्वमा पर्छ । उनी नेकपाको स्थानीय कार्यकर्ता भएको नेकपाका स्थानीय नेता कमल बुढाथोकीले जानकारी दिए । घटनाको विषयमा सुक्ष्म तरिकाले  छानबिन  भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।