योग गुरु बाबा रामदेवले कोरोना भाइरस (कोभिड–१९) को औषधि बनाएको दाबी गरेका छन् । मंगलबार रामदेवले कोरोनिल नामक आयुर्वेदिक औषधि सार्वजनिक गरेका हुन् । यसको क्लिनिकल कन्ट्रोल स्टडी र ट्रायल दुवै भएको उनले बताए । उनकाअनुसार दिल्ली सहितका सहरमा भएको क्लिनिकल कन्ट्रोल स्टडीमा २८० जना संक्रमित सहभागी थिए । उनले भने, ‘शतप्रतिशत विरामी ठीक भए, एक जनाको पनि मृत्यु भएन ।’
क्लिनिकल कन्ट्रोल ट्रायलमा भने १०० जना सहभागी थिए । उनीहरुमध्ये ६९ प्रतिशत संक्रमित ३ दिनमै ठीक भए भने सात दिनमा सबैको रिपोर्ट नेगेटिभ आयो । रामदेवको दाबी छ, ‘हाम्रो औषधिको शतप्रतिशत रिकभरी रेट छ, शून्य प्रतिशत डेथरेट छ ।’ उनका अनुसार यो औषधि बनाउन अश्वगन्धा, तुलसी लगायतको प्रयोग गरिएको छ । पतञ्जलीले बनाएको उक्त औषधि बजारमा समेत किन्न सकिने जानकारी दिँदै बाबा रामदेवले भने, ‘आयूर्वेदको विधिबाट तयार पारिएको कोरोनिल आगामी सात दिनमा पतञ्जलीको स्टोरबाट पाउन सकिन्छ।’