काठमाडौँ – खडेरीबाट मुक्त हुनको लागि ललितपुरमा सबैभन्दा लामो समय मनाइने रातो मत्स्येन्द्रनाथको रथ निर्माणको काम फेरि सुरु भएको छ । रथ बनाउनका लागि आवश्यक सबै काठ, बेत, बाँस जुटिसकेकाले बनाउन शुरु गरिएको गुठी संस्थान ललितपुरले जानकारी दिएको छ ।
रथ निर्माणको जिम्मेवारी पाएका बाराहीले काम शुरु गरिसकेका छन् । यो महिनाभरमा सक्ने गरेर काम अघि बढेको छ । यो वर्ष वैशाख ५ गते देवताको रथारोहण हुँदैछ । पाङ्ग्राबाहेक धमा, खट, थामलगायतमा नयाँ काठको प्रयोग गरिएको हो ।
पाँच वैशाखमा रथारोहण भएपछि मत्स्येन्द्रनाथलाई भोलिपल्ट नै गाःबहाल लगिन्छ । रथलाई पाटनभर घुमाएपछि जाउलाखेलमा लगेर भोटोजात्रा हुने गर्दछ । रातो मत्स्येन्द्रनाथको जात्रालाई उपत्यकाको सबैभन्दा लामो जात्रा मानिन्छ । वैशाख कृष्ण पक्षको प्रतिपदादेखि सुरु हुने जात्रामा वैशाख शुक्ल पक्षको प्रतिपदाको दिनदेखि रथयात्रा सुरु गर्ने चलन छ ।