अमेरिकी सेनाहरु मार्न रुसले अफगानस्तानका विद्रोही समूहलाई पैसाको प्रस्ताव गरेको भन्ने खबर शनिबार न्युयोर्क टाइम्स र वासिङ्टन पोस्टले प्रकाशित गरेका थिए । रुसले अफगानिस्तानका विद्रोहीलाई पैसाको प्रस्ताव गरेर अमेरिकी सेना साथै नेटोमा आवद्ध सेनाहरु मार्न लगाएको अमेरिकी गुप्तचरहरुको निष्कर्ष रहेको न्युयोर्क टाइम्स र वासिङ्टन पोस्टमा जनाइएको थियो ।
रुसले यस विषयमा प्रतिक्रिया जनाउँदै आफूमाथि लगाइएको आरोप झुठो भएको बताएको छ । अमेरिकास्थित रुसी दूतावासले आरोप निराधार र तथ्यहिन भएको बताएको हो ।
दूतावासले यस्ता झुठो खबरले अमेरिकामा रुसी कुटनीतिज्ञमाथि सुरक्षा खतरा बढेको जनाएको छ । अफगानिस्तानका विद्रोही समूह तालिबानले पनि रुससँग त्यस्तो कुनै सम्झौता नभएको प्रतिक्रिया जनाएको छ । सन् २०१९ मा अफगानिस्तानमा २० अमेरिकी सेना मारिएका थिए । अमेरिकी अधिकारीहरुले अनुसन्धानपछि एक महिना अगाडि रुस अमेरिकी सेना साथै नेटोमा आवद्ध सेनाको हत्यामा संलग्न भएको निष्कर्ष निकालेको समाचारमा जनाइएको थियो ।
समाचारअनुसार अफगानिस्तानका विद्रोहीसँग रुसको साठगाँठ भएको अमेरिकी ठहर छ । रुसले पैसाको प्रस्ताव गरेको खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि बताइएको जनाइएको थियो । बीबीसीका अनुसार ह्वाइट हाउसले भने ट्रम्पलाई रुस र तालिबानको साठगाँठको विषयमा कुनै जानकारी नभएको प्रतिक्रिया जनाएको छ ।