चीन र भारतबीच जारी सीमा विवाद थप चर्किने चिनियाँ रणनीतिकारहरुले बताएका छन् ।
चिनियाँ सेनाका रणनीतिकारहरुले सरकारलाई सीमा विवाद चर्किने र त्यसले चीन र भारतजस्ता परमाणु हतियार सम्पन्न देशलाई युद्धमा धकेल्ने सम्भावना भएको भन्दै सजग रहन सुझाव दिएको छ ।
साउथ चाइना मर्निङ पोष्टका अनुसार उनीहरुले युद्ध भड्किने सम्भावना भएकाले सरकारालई आवश्यक तयारी गर्न पनि सुझाव दिएको बताइएको छ ।
गतहप्ताको सोमबार चीन र भारत दुवैले दाबी गर्दै आएको गलवान उपत्यकामा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो ।
चिनियाँ सेनाको अवस्थाको बारेमा भने केही जानकारी प्रदान गरिएको छैन । चीनले उक्त घटना हुनुमा भारत दोषी भएको बताउँछ । उता भारत पनि चीनकै कारण झडप भएको बताउँछ ।
दुवै देशका सेनाले आफ्नो देशको नियन्त्रणमा रहेको भूमिमा प्रवेश गरेपछि झडप भएको प्रतिक्रिया दिएका छन् ।