अवैध क्रिप्टोकरेन्सी पीआई माइनिङ गर्ने एप नेपालमा ट्रेण्डिङमा

News

काठमाडौं । गूगल प्ले स्टोरबाट विश्वभर १० लाख पटक डाउनलोड भइसकेको पीआई माइनिङ गर्ने एप नेपालको टप ट्रेन्डिङ एपको सूचीमा दोस्रो नम्बरमा परिसकेको छ । नेपालको कानून अनुसार क्रिप्टोकरेन्सी (भर्चुअल मुद्रा) अवैध हो । मोबाइलमा क्रिप्टोकरेन्सी माइनिङ गर्ने दाबी गरिएको एप पछिल्लो केही दिनयता नेपालमा भाइरल भइरहेको छ । फेसबुक पोस्टदेखि म्यासेञ्जरसम्म यो एप प्रयोग गर्न लोभ्याउने किसिमका अनेक इन्भिटेसन (आमन्त्रण) फैलिएका छन्।

स्मार्टफोनमा क्रिप्टोकरेन्सी माइनिङ गर्ने दाबी गर्दै ३० फागुन २०७५ मा यो एप सार्वजनिक भएको थियो । अमेरिकाको क्यालिफोर्नियामा रहेको स्ट्यानफोर्ड विश्वविद्यालयका तीन जना ग्र्याजुएटले बनाएको यो एप पछिल्लो केही समययता नेपालमा एकाएक चर्चामा आएको हो ।पीआईलाई स्मार्टफोनमा सजिलै माइनिङ गर्न सकिने पहिलो क्रिप्टोकरेन्सीको रुपमा दाबी गरिँदै आएको छ । बिटक्वाइन माइनिङ गर्न भने शक्तिशाली कम्प्युटर उपकरणसँगै धेरै ऊर्जा समेत खपत गर्नुपर्ने हुन्छ ।

पीआई नेटवर्क एपले प्रयोगकर्ताको मोबाइलको डिभाइस आईडी तथा कलको सूचना, स्टोरेज, वाईफाई कनेक्सन, सम्पर्क नम्बर, आदिमा सजिलै एक्सेस बनाउन सक्छ ।फोन अन हुने वित्तिकै आफै चल्ने, भाइब्रेसनलाई नियन्त्रण गर्न सक्ने, अन्य एपहरु तान्न सक्नेदेखि फोनलाई स्लिपिङ (सुत्न) बाट रोक्ने क्षमता समेत यसले राख्छ । यो एप व्यक्तिगत गोपनीयताको हिसावले समेत जोखिमपूर्ण हुनसक्नेजानकारहरु बताउछन्।

नेपाल राष्ट्र बैंकले २०७४ मा नै एक सूचनामार्फत नेपालमा बिटक्वाइन (एक किसिमको क्रिप्टोकरेन्सी) कारोबार अवैध रहेको स्पष्ट पारिसकेको छ । केन्द्रीय बैंकले त्यसताका कसैलाई पनि त्यस्तो कारोबारमा संलग्न नहुन सचेत गराएको थियो ।

अहिलेसम्म नेपालमा क्रिप्टोकरेन्सीले वैधता पाइसकेको छैन,क्रिप्टोकरेन्सीको कारोबार र माईनिङ्गमा संलग्न भेटिएमा विदेशी विनिमय ऐनअनुसार कारबाही हुनसक्छ। करिब तीन वर्ष अघि क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले सात जनालाई पक्राउ गरी उनीहरु सहित १० जना बिरुद्ध कारबाही अगाडि बढाएको थियो ।नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ को व्यवस्थाअनुसार कारबाही अगाडि बढाइएका उनीहरु विरुद्ध कूल ४ करोड ९ लाख ६६ हजार ५ सय ९६ रुपैयाँ बिगो तथा सात वर्ष जेल सजायको माग गरिएको थियो । ४२ लाख रुपैयाँ धरौटीमा रिहा भएका उनीहरु विरुद्धको मुद्दा अझैं चलिरहेकै छ ।