धितोपत्र बजारको नियमित कारोवार आजदेखि पुनः शुरु हुने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डको सञ्चालक बोर्डको बैठकअनुसार आजदेखि धितोपत्रको दोस्रो बजार कारोवार शुरु गर्न लागिएको हो । दोस्रो बजार कारोवारमा स्थायित्व ल्याउने गरी कारोवार समय, सर्किट ब्रेक र मूल्य सीमासम्बन्धी उपयुक्त व्यवस्था गरी नेप्सेले बजार सञ्चालन गर्ने व्यवस्था मिलाउनेछ ।
शेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीयमाध्यमको प्रयोग गर्न प्रोत्साहित गर्ने नीति बोर्डले लिएको छ । बजारमा संलग्न हुने लगानीकर्ता, ब्रोकर, नेप्से, सिडिएसी, मर्चेन्ट बैंकरले यसअघि जारी गरिएको कोरोना सुरक्षाका उपाय पालना गरी कारोवार गर्नुपर्नेछ । लकडाउनकैबीचमा केही समय पहिले बजार सञ्चालनमा ल्याएको भए पनि पुनःबन्द गरिएको थियो । बजारलाई नियमितरुपमा सञ्चालनमा ल्याउने लक्ष्यका साथ दोस्रो बजार सञ्चालनमा ल्याउने निर्णय गरिएको बोर्डले जनाएको छ ।