म्यान्चेष्टर सिटी, आर्शनल र चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा न्युक्यासल युनाईटेडलाई २–० ले हराउँदै सिटी सेमिफाईनल प्रवेश गरेको हो । सिटीको जितमा केभिन डी ब्रईनी र रहिम स्टर्लिङले एक–एक गोल गरेका थिए ।
यस्तै, सेफिल्ड युनाइटेडलाई २–१ गोल अन्तरले पारजित गर्दै आर्शनल सेमिफाइनलमा प्रवेश गरेको हो । सेफिल्डको मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन निकोलस पेपे र ड्यानियल सेबालसले एक–एक गोल गरे । सेफिल्डका डाभिड म्याकगोल्ड्रिकले एक गोल फर्काएका थिए ।
यस्तै, क्वाटरफाइनलमा लेष्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सी पनि सेमिफाइनलमा पुगेको छ । लेष्टरको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन रोस बाक्र्लीले ६३ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । एफए कपको सेमिफाइनल जुलाई ११ र १२ मा हुनेछ भने फाइनल खेल अगष्ट १ मा हुनेछ ।