सुशान्तको अन्तिम फिल्म दिल बेचारा डिजिटल प्लेटफर्ममा रिलिज हुँदै

Entertainment

कोरोना भाइरसका कारण सिनेमा दल खुल्ने अनिश्चितताका बीच बलिवुडका कैयौं सुपरस्टारहरुले आफ्ना फिल्म डिजिटल प्लेटफर्ममा रिलिज गर्ने घोषणा गरेका छन् । ओभर द टप (ओटीटी) प्लेटफर्म भनिने डिजिटल प्लेटफर्ममा अक्षयकुमार, अजय देवगन, संजय दत्त, अभिषेक बच्चन, आलिया भट्ट, बरुण धवन जस्ता स्टारहरुका फिल्म रिलिज हुने भएका छन् ।

जुलाई देखि अक्टोबरसम्म रिलिज हुने गरि अहिलेसम्म अक्षयकुमारको लक्ष्मी बम, अजय देवगनको भुज, आलिया भट्टको सडक २, सुशान्त सिंह राजपुतको अन्तिम फिल्म दिल बेचारा, अभिषेक बच्चनको द बिग बुल, खुद हफिज, लुट जस्ता फिल्म रिलिज हुने बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । यी सबै फिल्म डिसनी प्लस हटस्टारमा रिलिज हुने छन् । यसमा सबैभन्दा पहिला सुशान्तको अन्तिम फिल्म दिल बेचाराको प्रिमियर हुने बताइएको छ ।

डिजिटल रिलिज हुने भएपछि सिनेमा प्रेमी उत्साहित भएका छन् ,भने अहिले बलिवुडमा सुशान्तको मृत्युपछि आलोचित बनेकी अभिनेत्री आलिया भट्टको सडक २ लाई भने सकारात्मक प्रतिक्रिया आएको छैन । सुशान्तको आत्महत्या प्रकरणमा लगातार मिडिया र सामाजिक संजालमा महेश भट्ट र आलियामाथि आलोचना भइरहेकोले यसको असर सडक २ लाई हुनसक्ने बताइएको छ ।