नेकपाको झगडामा कांग्रेसको आपत्ति

Politics

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अधिवेशन अन्त्य गर्ने प्रधानमन्त्री केपीशर्मा ओलीको कदम गैरजिम्मेवार रहेको प्रतिक्रिया दिएको छ । पार्टीभित्रको झगडा सामना गर्न नसकेर प्रधानमन्त्रीले सबैभन्दा पहिले संघीय संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गर्नु जनताप्रतिको विश्वास र भरोसामाथि प्रहार भएको कांग्रेसले बताएको हो ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मन्त्रिपरिषदको सिफारिसमा अधिवेशन अन्त्य गर्ने निर्णयले सरकार, नेकपा र स्वयम् प्रधानमन्त्रीलाई भलो नहुने बताएका हुन् । खाँणले भन्नुभयो, “आफ्नो पार्टीभित्रको आन्तरिक झगडाको व्यवस्थापन गर्न नसकेर प्रधानमन्त्रीले सबैभन्दा पहिलो सिकारका रूपमा संघीय सदनलाई बनाउनुभयो र यसले उहाँलाई मात्र होइन सत्तारूढ नेकपा र सरकारलाई फाइदा गर्दैन ।”

मन्त्रिपरिषदको बिहीबारको बैठकले संसद अधिवेशन आजै बेलुकी ५ बजेदेखि अन्त्य गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयले अधिवेशन अन्त्य गरिसकेको छ ।

खाँडले भने, “विभिन्न विधेयक पारित गर्नुपर्ने थियो, छलफल गर्नुपर्ने थियो, कोरोना नियन्त्रणका लागि जनताका कुरा राख्नुपर्ने थियो, जरूरी सार्वजनिक महत्वका प्रस्ताव दर्ता थिए, जनताका पीडालाई जनप्रतिनिधिले राख्नुपर्ने थियो,  सरकारलाई काम गर्न दवाव दिनुपर्ने थियो, यी समग्र विषयमा छलफल गरी धारणा बनाउन सकिन्थ्यो ।”