सरकारले निर्णय गरेको डेढ घण्टामै राष्ट्रपतिबाट संसद अधिवेशन अन्त्य

Politics

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदबाट सिफारिस भएको डेढ घण्टाभित्रै संसद अधिवेशन अन्त्य गरेकी छिन्।

राष्ट्रपति कार्यालयले अधिवेशन अन्त्यको पत्र सचिवालयमा २ बजेअघि नै पठाएको हो । जबकी मन्त्रिपरिषद्को १२ बजेका लागि डाकिएको बैठक साढे १२ बजे सुरू भएको थियो ।
उक्त बैठकले राष्ट्रपति समक्ष संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

सामान्यतया: संसदको अधिवेशन अन्त्य गर्ने राष्ट्रपतिको कार्यालयको पत्र संसदमा पढेर सुनाउने गरिएको थियो । त्यस्तो पत्रमा राति १२ बजेटबाट अधिवेशन अन्त्य भएको उल्लेख हुन्थ्यो । तर यसपटक मन्त्रिपरिषद्ले नै साँझ ५ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
नेकपाका सचिवालय सदस्यहरूले आकस्मिक रूपमा संसद अधिवेशन अन्त्य गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत् दल फुटाउने कानुन ल्याउने तयारी गरिरहेको आरोप लगाएका छन् ।

यसअघि पनि प्रधानमन्त्रीले दल फुटाउन मिल्ने गरी अध्यादेश ल्याउन सिफारिस गरेको केहीबेरमै राष्ट्रपतिले जारी गरिदिएकी थिइन् ।

राष्ट्रपति भण्डारीको पत्र आउँदा राष्ट्रिय सभाको बैठक चलिरहेको थियो। अधिवेशन अन्त्यको सूचना आएपछि राष्ट्रिय सभाको दोस्रो बैठक बोलाइएको छ ।

दोस्रो बैठकमा अधिवेशन अन्त्यको जानकरी दिने तयारी भैरहेको राष्ट्रिय सभा सचिव राजेन्द्र फुँयालले जानकारी दिए ।