प्रधानमन्त्री केपी शर्मा ओली ‘इनफ इज इनफ’ अभियानका युवाहरूलाई भेट्न धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पुगेका छन् ।
कोरोना नियन्त्रण तथा रोकथामसँग सम्बन्धित विभिन्न माग राखेर अनसनमा बसेका युवाहरूको स्वास्थ्य अवस्था बुझ्न उनी त्यहाँ पुगेका हुन् ।
पाटन दरबार स्क्वायरको कृष्णमन्दिर अगाडि पाटीमा अनसनमा बसेका युवाहरूलाई उपचारका लागि ह्याम्स अस्पताल ल्याइएको थियो ।
‘सरकार कोभिड नियन्त्रण गर्न पारदर्शी ढंगले सक्रिय रहेको उल्लेख गर्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।
कोभिड–१९ संक्रमणको प्रभावकारी र पारदर्शीरुपमा नियन्त्रण गर्नुपर्ने माग राख्दै युवाहरुले प्रदर्शन गर्दै आएका छन् । तीमध्ये पुकार बम, इशान (ई), सुदन गुरुङ र सुबानी सिजापती शुक्रबारदेखि ललितपुरको पाटन कृष्णमन्दिर नजिकै अनसनमा बसेका हुन् । अनसनकारीहरुको स्वास्थ्य अवस्था कमजोर भएपछि बिहीबार उनीहरुलाई अस्पताल लगिएको हो ।