नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनले लकडाउनका कारण पर्यटन क्षेत्रमा ३४ अर्ब बराबरको क्षति भएको देखाएको छ । ३४ अर्वको क्षति देखिएपनि विमानस्थल निर्माणको कर्यप्रगती साथै अन्य भौतिक प्रगति भने सन्तोषजनक देखिएको छ ।
कोरोना संक्रमणको त्राससँगै गरिएको लकडाउनका कारण पर्यटन तथा हवाइ क्षेत्रमा ३४ अर्ब बराबरको क्षति भएको एक अध्ययनले देखाएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनले लकडाउन शुरु भएपछि हालसम्म ३४ अर्ब क्षति भएको देखाएको हो । लकडाउनको अवधिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट भएका कार्यप्रगतिको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रतिमहिना सरदर १० अर्ब कारोबार मूल्यको प्रत्यक्ष क्षति भएको जानकारी दिइएको हो । सरकारले केही सेवा क्षेत्र खुला गरे पनि लकडाउन साउन ७ गतेसम्म बढाएपछि थप सात अर्बको नोक्सानी बढ्नसक्ने अनुमान गरिएको छ ।
पर्यटन मन्त्रालयले पर्यटन क्षेत्रका कर्मचारी तथा पुनकर्जाका लागि ५ प्रतिशत ब्याजदरमा कोषबाट ऋण दिने व्यवस्था गरिएको जनाएको छ । होटलका लागि भ्याट दाखिला गर्ने समय २ महिनाबाट बढाएर चार महिना पु¥याइएको छ ।
लकडाउनको अवधिमा विभिन्न विमानस्थलहरुमा सन्तोषजनक कार्यप्रगति भएको मन्त्रालयले जनाएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३ प्रतिशत थप भौतिक प्रगति भई अहिलेसम्म ९१ प्रतिशत काम भएको छ ।
यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लक डाउनको अवधिमा ९ प्रतिशत थप भौतिक प्रगति भई अहिलेसम्म ५९ प्रतिशत प्रगाति भएको बताइएको छ । त्रिभुवन विमानस्थलमा एप्रोन निर्माण, धावनमार्ग र रनवे निर्माण, टर्मिनल भवन निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । निजगढ विमास्थल निर्माण क्षेत्रभित्रका रुख बुट्यानहरुको छपानका लागि रुख विरुवा गणनाको काम सुरु भएको छ ।
त्यस्तै, यो अवधिमा ४१ किलोमिटर पदमार्ग, विभिन्न क्षेत्रमा फुटपाथ निर्माण, भ्यू टावर निर्माण सम्पन्न भएको छ । यस्तै एकीकृत विद्युतीय सञ्जाल सम्बन्धि एप्लिकेसन निर्माणको काम पनि सकिएको छ । मध्यपूर्व र युरोप लगायत १७ मुलुकबाट मार्च २४ देखि ३० सम्म नेपाल वायुसेवा निगम लगायत वायु सेवाहरुबाट २ सय १४ उडान मार्फत १६ हजार ६ सय ७२ नेपालीलाई उद्धार गरिएको छ । सो अवधिमा नेपालमा अलपत्र परेका १२ हजार ४ सय ८ जना विदेश प्रस्थान गरेको छन् ।