सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता एंव स्थायी समिति सदस्य सुवास नेम्वाङले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहअनुसार प्रधानमन्त्रीकै अनुमतिमा आफूले आइतबार बिहान सभापति देउवालाई भेटेको नेम्वाङले बताउनुभयो ।
भेटमा आफूले समसामयिक राजनीतिक घटनाक्रमबारे प्रमुख प्रतिपक्षी दलका नेता देउवालाई जानकारी गराएको नेम्वाङको भनाइ छ । “सत्तापक्ष र प्रतिपक्षीबीच निरन्तर संवाद रहनुपर्छ, सम्पर्कमा रहनुपर्छ भन्ने कुरा उठिराखेकै हुन्छन्,” नेम्वाङले भन्नुभयो ‘प्रतिपक्षी दलका नेता शेरबहादुरजीहरूले पनि छलफल हुनुपर्छ, विभिन्न विषयहरूमा हामीलाई जानकारी हुनुपर्छ भन्नुभएकै हो ” । यसअघि पनि प्रधानमन्त्री ओलीले शेरबहादुर देउवा संग भेट गर्नुभएको थियो ।
प्रधानमन्त्रीले देउवासँग कुराकानी गर्न भनेपछि आफूले भेटेर कुराकानी गरेको नेम्वाङले बताउनुभयो । आफूले भेटमा देउवालाई अहिलेको समसामयिक राजनीतिक कुराकानीबारे जानकारी गराएको उहाँको भनाइ छ । प्रधानमन्त्रीजीलाई भन्नुपर्ने केही भए राख्न आफूले देउवालाई आग्रह गरेको पनि नेम्वाङले बताउनुभयो ।
उक्त भेटमा सभापति देउवाले संवैधानिक परिषदका बाँकी नियुक्ति प्रक्रिया, एमसिसी, संविधानका मर्मविपरीत आएका एकपछि अर्का विधेयकहरू लगायतमा छलफल गरी अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियो । यसअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच असार १७ गते भेट भएको थियो।