सिक्टा सिँचाइ आयोजनाको पानी किसानको खेतमा

News

बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवकोे सिक्टा सिँचाइ आयोजनाबाट राप्ती नदीको पानी खेतमा पुगेपछि किसान हर्षित भएका छन् ।

आयोजनाले धान रोपाइँलाई ध्यानमा राखी पश्चिमी मूल नहर र पू्र्वी नहरबाट पानी सञ्चालन गरेपछि किसानको खेत सिँचित भएको छ । नहरको पानी खेतबारीमा पुगेपछि यस वर्ष समयमै धान रोपाइँ गर्न पाइएको डुडुवा गाउँपालिका स्थानीयले बताएका छन् ।

सिक्टाको पानी खेतबारीमा पुगेपछि कम्दी गाउँका किसानले तरकारी खेती गरेर नगद आर्जन गर्न थालेको डुडुवा- ५ का वडाध्यक्ष परशुराम बुढाथोकीले जानकारी दिनुभयो ।

आयोजनाका निर्देशक लोकबहादुर थापाले धान रोपाइँलाई ध्यानमा राखी पश्चिमी मूल नहरको जेठी नालासम्म र पू्र्वी नहरको साविक राजकुलोबाट विभिन्न शाखा तथा प्रशाखा नहरमार्फत किसानको खेतबारीमा पानी पुगेको बताउनुभयो ।

उहाँका अनुसार पश्चिमीमूल नहरअन्तर्गत रहेका सिधनिया, डुडुवा र जेठी नाला शाखा र पू्र्वी नहरको साविक राजकुलो सिँचाइको पुरानो नहर हुँदै किसानको खेतबारीमा पानी छाडिएको हो ।

सिक्टा सिँंचाइ आयोजनाको कुल बजेट रु २५ अर्ब रहेकामा रु १४ अर्ब थप बढाएर पाँच वर्षभित्र काम सक्ने गरी रु ३९ अर्बको संशोधित गुरुयोजना बनाइएको छ । पूर्वी र पश्चिमी मुख्य नहरसँगै शाखा, उपशाखा र प्रशाखा नहरसहित दुई वर्षमा सिंचाइको मुख्यमुख्य सञ्जाल बनिसक्ने आयोजनाको भनाइ छ ।