भूमिकाविहीन बनाइँदै नेता नेपाल

Politics

नेपाल कम्युनिष्ट पार्टी नेकपाको चुुलिदोँ विवाद टुंग्याउन वरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरुको सहभागिताबिनै भएको वान टु वान वार्ता सकारात्मक भनिएपनि अर्को पक्षको असन्तुष्टि भने कायमै रहने विज्ञहरुले बताएका छन् ।  विवाद समाधानका लागि भन्दै अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले आफू निकट नेतालाई मात्रै वार्तामा समावेश गराएपछि अन्य पक्षको असन्तुष्टि पुन बाहिरिने सम्भावना देखिएको विज्ञहरुले बताएका हुन्  ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच वार्ता चलिरहँदा पछिल्लो घटनाक्रमका प्रमुख पात्र मानिएका वरिष्ठ नेता माधव नेपाल लगायत नेता भने बैठकमा सहभागी हुन सकेका छैनन् ।  त्रिपक्षीय भिडन्तको संज्ञा दिइएको नेकपाको विवादमा नेता नेपाल र उनीनिकट मानिएकाहरू सहभागी नहुँदा अर्कोपक्षको असन्तुष्टि कायमै रहेको विकसित घटनाहरूले देखाइरहेका छन् । लामो समयदेखि एकअर्काप्रति असन्तुष्ट देखिँदै आएका अध्यक्ष ओली र दाहालले शक्ति हस्तान्तरण गर्न नचाहेका कारण यस्तो समस्या देखा परेको विज्ञहरुको बुझाइ छ ।

नेकपाको अधिंकाश विवादमा मध्यमार्गी भूमिका खेल्दै आएका वरिष्ठ नेता नेपाल लामो समयदेखि प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्ट रहेका छन् । पछिल्लो समय चुलिएको विवाद वार्ताबाट समाधान गर्नुपर्ने धारणा व्यक्त गर्दै आएका नेपाललाई लगातार चलेको अध्यक्षद्वयबीचको वार्तामा सहभागी नगराउनु रहस्यमय ठानिएको छ ।

तेस्रो शक्तिशाली मानिएका र एक पद, एक जिम्मेवारीलाई प्रमुख एजेण्डा बनाएका उनलाई सहभागी नगराएर पाखा लगाउन खोजिएको टिप्पणी गर्नेहरू पनि छन् । तर पार्टीभित्रको  विवाद साम्य भई केही समयपछि यथास्थितिमा फर्किने नेताहरूको बुझाइ छ ।

शीर्षस्थ नेताहरुको सहकार्यबाटै नेकपाको विवाद समाधान हुने नेताहरूको बुझाइ छ । त्यसैले उनीहरू संवादबाटै समस्या समाधान हल गर्न नेतृत्वलाई दबाब दिइरहेका छन् ।।