ट्याक्सी चलाउन दिने सरकारको तयारी, दुईजना मात्र यात्रु राख्न पाउने

News

सरकारले ट्याक्सी सञ्चालन गर्न दिने तयारी थालेको छ तर दुई जना भन्दा बढी यात्रु राख्न नपाइने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकमा ट्याक्सीसहित सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनेबारे छलफल भएको थियो ।

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी चालकबाहेक दुईजना राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिनेबारे सकारात्मक छलफल भएको एक मन्त्रीले जानकारी दिए । यसबारे कोभिड १९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)मा पनि छलफल गरेर निर्णय हुनेछ । यस्तै सार्वजनिक यातायात सञ्चालनबारे पनि गृहकार्य गर्ने जिम्मा सीसीएमसीलाई दिइएको छ ।

यातायात व्यवसायी लगायत सरोकारवाला पक्षसँग यातायात व्यवस्था मन्त्रालयले छलफल गरेर सीसीएमसीमा मोडालिटी पेश गर्ने र त्यसअनुसार थप निर्णय हुने एक मन्त्रीले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना नगर्दा काठमाडौं उपत्यकामा जोखिम बढेको भन्दै कडाइ गर्न निर्देशन दिनुभएको छ ।