नयाँ नक्साको विरोधमा भारतको कूटनीतिक नोट

International

नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ राजनीतिक नक्साको विरोधमा भारतले कूटनीतिक नोट पठाएको पाइएको छ । राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहीबार बसेको बैठकमा सभापति रामनारायण विडारीले भारतको कूटनीतिक नोट आएको बताउनु भएको हो । उहाँले, नेपालको दाबीलाई अस्वीकार गर्दै भारत सरकारले असार १० गते कूटनीतिक नोट पठाएको जानकारी गराउनुभयो ।

औपचारिक रुपमा भने भारतले कूटनीतिक नोट पठाएको विषयमा परराष्ट्र मन्त्रालय बोलेको छैन । नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले सार्वजनिक रुपमा नेपालको दाबीलाई अस्वीकार गर्ने बताउँदै आएका छन् ।

 कोरोना महामारीको समयमा लिपुलेक क्षेत्रमा नेपाली भूभाग अतिक्रमण गरेर बनाएको मानसरोबर जाने सडक उद्घाटन गरेपछि नेपालले विरोध गरेको थियो  र तत्काल वार्तामा बस्न आग्रह गरेको हो । तर भारत तत्काल सम्वादका लागि तयार नभएपछि नेपाल नयाँ नक्सा जारी गर्ने निष्कर्षमा पुगेको हो ।

सोहीअनुसार नेपालले जेठ ५ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको थियो ।