राष्ट्रिय खेलकुद परिषद् (राखेप)का ३३ जना कर्मचारी तथा प्रशिक्षकले राष्ट्रिय खेलकुद संघबाट राजीनामा दिएका छन् । खेलकुद ऐन २०७७ कार्यान्वयनमा आएसँगै ३३ जना कर्मचारी र प्रशिक्षकले विभिन्न राष्ट्रिय संघबाट राजीनामा दिएका हुन् ।
नयाँ ऐनले परिषद्का बहालवाला सदस्य सचिव, कर्मचारी तथा प्रशिक्षकलाई खेल संघका कुनै पनि पदमा बस्न नमिल्ने प्रावधान राखेको छ । नयाँ ऐन गत बिहिबारबाट कार्यान्वयनमा आएसँगै राष्ट्रिय संघका आबद्ध राखेपका कर्मचारी र प्रशिक्षकले राजीनामा दिएका हुन् ।
राष्ट्रिय खेलकुद संघलाई चलायमान बनाउन सुरुवाती चरणमै परिषद्ले नै कर्मचारीलाई विभिन्न संघमा पठाउने गरेको थियो । त्यस्तै विभिन्न राष्ट्रिय संघले खेलकुद गतिविधि सञ्चालनमा सहयोग पुग्ने भन्दै परिषद्का कर्मचारीलाई समावेश गर्दै संघ दर्ता गरेका छन् ।