नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले कालापानी क्षेत्रबाट भारतीय फौज हटाउनेबारे कुरा गर्नुपर्नेमा अयोध्याको कुरा उठाएर विषय अन्तै मोड्न खोजेको बताउनुभएको छ । उहाँले देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकारमा छलफल गर्न समेत माग गर्नुभयो ।
रावलले मंगलवार सामाजिक सञ्जाल ट्वीटरमा ‘यो बेला सीमा क्षेत्र मिचिएको, तराईका बस्ती डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने विषय उठाई भारतसँग कुरा गर्नुपर्ने हो कि राम र अयोध्याबारे बहस गर्नुपर्ने हो ? विषयान्तर किन ? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीँ छलफल गर्नु नपर्ने कस्तो तन्त्र हो ?’ लेख्नुभएको छ ।
भगवान राम भारतमा नभई नेपालमा जन्मिएको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार व्यक्त गरेको अभिव्यक्तिलाई लिएर नेपाल र भारतमा तरंग पैदा भएको छ ।
