कामना सेवा विकास बैंकले तयार पार्यो ब्रेल लिपीमा बैंकिङ सामग्री

Economy

नेपालमै पहिलो पटक कामना सेवा विकास बैंकले ब्रेल लिपीमा पढ्न मिल्ने बैंकिङ कागजात तयार पारेको छ । आइतबार एक कार्यक्रमका बीच बैंकका सञ्चालक विश्वेश्वर सुवेदीले दृष्टिविहिनका लागि तयार पारिएको नयाँ बचत योजनाका शुभारम्भ गर्नुभएको छ ।

झन्झटिलो बैंकिङ प्रक्रियाका कारण अपाङ्गता भएका व्यक्ति, दृष्टि विहिनहरुको पहुँचमा बैंक पुग्न नसकिरहेको सन्दर्भमा नेपालमै पहिलो पटक कामना सेवा विकास बैंकले ब्रेल लिपीमा पढ्न मिल्ने बैंकिङ कागजात तयार पारेको हो । कामना सेवा विकास बैंकले ‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मुल नाराका साथ विभिन्न बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ।

यसै सन्दर्भमा दृष्टिविहीन व्यक्तिहरुका लागि विशेष प्रकृतिको खाता ‘स्वाभिमान बचत खाता’ संचालनमा ल्याएको हो । कामना सेवा विकास बैंकका खाता खोल्दा दृष्टिविहिनले आफैले पढ्न सक्ने ब्रेल लिपीमा तयार पारिएको सामग्रीको सहयोगमा विवरणहरु भरेर खाता खोल्न सकिने बैंकले जनाएको छ ।

बैंकले दृष्टि विहिनहरुका लागि शून्य मौज्दातमा खाता खोल्न सकिने व्यवस्था पनि गरेको छ । बैंकले दृष्टिविहिन आफैले ज्ञानेश्वरस्थित मुख्य शाखा कार्यालयबाट अडियोको सहायता लिएर एटिएम सुविधा लिन सक्ने व्यवस्था समेत गरिएको जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकले हरेक जनताको पहुँच पुर्याउने गरी बैंक सञ्चालन गर्ने उद्देश्यले नयाँ शैलीको खाता सञ्चालनमा ल्याएको पनि जानकारी दिनुभयो ।