नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।
इच्छाकामना–६ चारकिलो भन्ने स्थानमा सोमबार बिहान ५ बजेतिर दुई वटा विद्युतका पोलसहित ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो ।
अविरल वर्षापछि सडकमा ठूलो पहिरो खसेकाले बिहान पाँच बजेदेखि नै सडकमा गाडी चल्न नसकेका जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी सूर्यबहादुर थापाले जानकारी दिनु भयो ।
पहिरो खसेको ठाउँमा डोजर र लोडर पुगिसकेका छन् डिएसपी थापाले बताउनु भयो । उहाँका अनुसार पहिरो झर्ने र पानी पर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउने क्रम अझै सुरु नभएको बताउनु भयो ।
पानी पर्न र पहिरो झर्न रोकिएपछि मात्रै पहिरो पन्छाउन सुरु गरिने जानकारी दिनु भयो । पहिरोले दुई वटा बिजुलीका पोलसमेत ढालेको छ । पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने थापाको भनाई छ।
सडक अवरुद्ध हुँदा दुबैतर्फ सयौँ सबारी साधनको लाइन लागेको छ । सवारी साधनलाई धादिङ र नारायणगढतिरै रोकिएको थापाले बताउनु भयो ।