पार्टीभित्रको विवाद फुक्नुको सट्टा झन कसिंदै गएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेताहरुसँगको छलफललाई थप तीब्रता दिएका छन् ।
आज (सोमबार) अध्यक्ष प्रचण्डले आफ्नै निवास खुमलटारमा आफू पक्षीय स्थायी कमिटी सदस्यहरुसँग पार्टीभित्रको विवाद समाधानका विषयमा छलफल गरेका छन् । आज बिहान अध्यक्ष प्रचण्डले पूर्व माओवादी केन्द्रतर्फका स्थायी कमिटी सदस्यहरुसँग पार्टी विवाद समाधानका विषयमा झण्डै तीन घण्टा छलफल गरेका छन् । छलफललो पार्टीभित्रको विवाद हल गर्न प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली नै अग्रसर हुनुपर्ने निष्कर्ष निकालेको छ ।
‘पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत भएको नाताले उहाँले नै निकास दिनुपर्छ र पार्टी एकतालाई पनि बचाउनु पर्छ । त्यसका लागि ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छोड्नु पर्छ भन्ने विषयमा नेताहरु एकमत देखिनुको भएको छ’, छलफलमा सहभागी एक नेताले भने, ‘ओलीजी प्रतिपक्ष जस्तो बन्नु भएन, घुर्की लगाउनु भएन । बैठक नराख्ने र राखे पनि बीचमै छोड्ने त कहिले महाधिवेशनको कुरा ल्याएर समस्या समाधान नभई पन्छाउने प्रयासमा लाग्नु भएको छ । यो प्रवृत्तिले निकास आउँदैन । त्यसैले उहाँले नै निकास दिन जरुरी छ ।’
नेकपाको स्थायी समिति बैठक भोलि मंगलबार बस्दैछ । बैठकअघि रणनीति बनाउन प्रचण्ड पक्षका नेताहरुबीच छलफल भएको हो । पार्टी फुट्नु हुँदैन । पार्टी र सरकार दुवै चल्नुपर्छ । त्यसका लागि विधानको पालनमा जोड दिनुपर्छ भन्ने विषयमा विभिन्न कोणबाट छलफल भएको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिए ।
आजको छलफलमा पार्टी एकता बलियो बनाउने, एकता प्रक्रियालाई टुंग्याउने र महाधिवेशनबारे बाहिर भएका चर्चालगायतका विषयमा छलफल भएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिएका छन् । आइतबार पनि सचिवालयका चार सदस्यसहित माधवकुमार नेपाल पक्षका केही स्थायी कमिटी सदस्यहरुसँग प्रचण्डले पार्टी विवाद समाधानाक विषयमा छलफल गरेका थिए ।
आज (सोमबार) को छलफलमा सहभागी नेताहरुले पछिल्लो पटक सचिवालय बैठकमा प्रस्तावका रुपमा आएको ‘अर्ली महाधिवेशन’ का बारेमा प्रचण्डसँग जिज्ञासा राखेका थिए । जवाफमा प्रचण्डले अर्ली महाधिवेशनका बारेमा ओलीसँगै कुनै सहमति नगरेको दोहोर्याएका थिए ।
‘मंसिरमा महाधिवेशन गर्ने प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव, सचिवालय र शीतल निवासमा भएको छलफलबारे नेताहरुलाई ब्रिफिङ गरेका थिए । आफूले महाधिवेशन गर्ने प्रस्तावमा सोच विचार गर्न सकिन्छ भनेको भन्दै उनले ‘वैचारिक विषय टुंगिएको छैन । छोटो समयमा भ्याइन्न कि जस्तो लागेको छ । तै पनि साथीहरुसँग छलफल गर्न सकिन्छ भनेको हुँ’, प्रचण्डको भनाई उद्धगृद गर्दै एक नेताले भने ।
उनले भने, ‘बाहिर ‘पदका लागि झगडा थियो, पद मिलेपछि सहमति भयो’ भने जसरी प्रचार भएको उनको गुनासो थियो । अब वैचारिक र जनतासँग जोडिएको मुद्दामा बढी केन्द्रित हुनुपर्नेमा जोड दिएको एक स्थायी कमिटी सदस्यले बताए ।
बैठकमा नेताहरुले पनि अहिले ‘फाइट टु फिनिस’ भनेर जाँदा पार्टी नै फुट्न सक्ने र पदकै लागि पार्टी फुटाएको आरोप लाग्नसक्ने भन्दै स्थायी कमिटी बैठकलाई नियमित एजेण्डामा फर्काएर सेफल्याण्डिङ गर्न सुझाव दिएका छन् । जवाफमा प्रचण्डले पनि ओलीसँग एकता, संघर्ष र एकताकै आधारमा अगाडि बढ्ने बताएका थिए ।