वालुवाटारको ब्यस्त सडकमा अष्ट्रिच , बटुवा सबै अचम्मित

Interesting

न्यून सवारी साधन चल्दा पनि काठमाडौं वालुवाटारको ब्यस्त सडक आज बिहान एकाएक जाम भयो । सडक जाम हुनु अनौठो मानिरहेका यात्रुले जब मध्य सडकमा अष्ट्रिज उफ्रिरहेको देखे सबैजना अचम्मित थिए। निरन्तरण झरी परिरहेका बेला बिहान ११ बजेतिर सडकमा अस्ट्रिच अतालिएर कुदिरहेको थियो ।जोडी वा समूहमा रहने अस्ट्रिचहरु एक्लै हुँदा असुरक्षित महसुस गर्ने गर्छन । त्यही भएर एक्लो अष्ट्रिज सडकमै अलमलिएको थियो । नाचे जस्तो गरिरहेको अष्ट्रिच हेर्न मानिसहरु झुम्मिएका देखिन्थे ।यात्रु तथा बटुवाहरु चाहिं फोटो–भिडियो खिच्न ब्यस्त थिए । अस्ट्रिचका कारण गाडीहरु रोकिएका थिए ।

गाडीको हर्नका कारण अस्ट्रिचले कता जाने मेलोमेसो नपाएर सडकमा दौडिरहेको देखिन्थ्यो । अष्ट्रिच हेर्नकै लागि सवारी साधन रोकिएका कारण त्यहाँ ट्राफिक जाम भएको थियो ।स्थानीयका अनुसार नजिकै रहेको एक रेस्टुरेन्टले पालेको अस्ट्रिच बाहिर निस्किएको हो ।पछिल्लो समय नेपालमा मासुका लागि अस्ट्रिचको व्यावसायिक पालन नै भइरहेका छन्।