बिहीबारदेखि देशभरका सार्वजनिक यातायात चल्ने

News

बिहीबारदेखि देशभरका यातायात व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने भएका छन्। काठमाडौंको तीनकुनेमा मंगलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा तीन वटै यातायात मजदुर संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन्। व्यवसायीले सरकारसँग छोटो दूरीको यातायात सञ्चालन गर्न तयार भए पनि लामो दूरीको सवारीसाधन समेत सञ्चालन गर्न माग गरेका छन्। यातायात व्यवस्था विभागसँग ५०/५० प्रतिशत शुल्क सरकार व्यवसायीले बेहोर्ने गरी मजदुरको कोरोना बीमा गर्ने, सरकारसँग कुनै मजदुरको मृत्यु भएमा क्षतिपूर्ति दिने गरी कोष बनाउन अनुरोध गर्ने लगायतका सहमति भएको महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यले बताए। यातायात मजदुरलाई स्वास्थ्य सुरक्षाको लागि पिपिई,मास्क तथा स्यानिटाइजर व्यवसायीले उपलब्ध गराउने उनले जानकारी दिए।