पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालमा भाँसिएको सडक मर्मत गर्नका लागि ठूला मालबाहक गाडी चलाउन रोक लगाइएको छ । निरन्तर परेको वर्षाका कारण मङ्गलबार राजमार्ग भासिएपछि सवारी सञ्चालनमा कठिनाइ हुँदै आएको छ ।
सडक मर्मतका लागि शुक्रवार र शनिवार ठूला मालबाहक गाडी चलाउन रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार आँबुखैरेनीतर्फबाट आउने र दमौलीतर्फ जाने ठूला मालबाहक गाडीलाई प्रवेशमा रोक लगाइएको छ ।
साथै बिहीवार साँझदेखि नै अवरुद्ध भएको डुम्रे–दमौली सडकखण्डमा आज बिहान ९ बजेदेखि १२ बजेसम्म ठूला तथा साना सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले सडक भाँसिएर वैकल्पिक मार्ग बनाइए पनि वैकल्पिक मार्गमै सवारी फस्न थालेपछि सडक अवरुद्ध हुन थालेको जानकारी दिए। “वैकल्पिक मार्गलाई बलियो नबनाएसम्म सवारी साधन सञ्चालनमा समस्या आउने भयो”, उनले भने ।