कोरोनाका कारण पर्साको वीरगञ्जमा स्थानीयको मृत्यु हुन थालेपछि निशेधाज्ञा लगाइने भएको छ। जिल्लाका राजनीतिक दलका प्रमुख, वीरगञ्जमा महानगरपालिका नगर प्रमुख, जिल्लाका सबै सुरक्षा अंगका प्रमुखहरुको शुक्रबार बसेको सर्वदलीय बैठकले शनिबार बिहान ५ बजेबाट निशेधाज्ञा लगाउने निर्णय गरेको हो ।
जिल्लाभरि नै सुरक्षा सतर्कता अपनाई वीरगञ्ज महानगरपालिकालाई केन्द्रमा राखेर निशेधाज्ञा लगाउने निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनुभयो । निशेधाज्ञाको समयमा परीक्षणको दायरा बढाउने, क्वारेन्टाइनलाई थप परिस्कृत गर्ने, कोभिड अस्पतालको क्षमता बढाउने, पीसीआर किट लगायत आवश्यक सामग्री, एम्बुलेन्स नत्र चालककोको व्यवस्था वीरगञ्ज महानगरपालिकाले गर्ने, लगायतका सात वटा निर्णय भएका छन् ।
निशेधाज्ञा तत्काललाई अनिश्चितकालकै लागि लगाउने निर्णय भएको नेकपा पर्साका अध्यक्ष प्रभु हजाराले बताउनुभयो । दुवै मृतक घरबाहिर त्यति नजाने र घरमा नै रहने ७० वर्षका र ८५ बर्षका रहेकोले पनि संक्रमण समुदायसम्म फैलिएको हुनसक्ने आंकलन गरिएको हो ।