कार्यकक्षमै कुटिए वडाध्यक्ष

News

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का वडा अध्यक्ष बहादुरसिंह महरामाथि आइतवार कार्यकक्षमै कुटपिट गरिएको छ। नेपाली कांग्रेस सम्वद्ध तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा गएको समूहले वडाअध्यक्षमाथि कुटपिट गरेका हुन्। वडाअध्यक्ष महरामाथि कुटपिट गर्ने समूहले वडा कार्यालय पनि तोडफोड गरेका छन्। कुटपिटबाट अध्यक्ष महराको टाउको, घाँटी, पिठ्युँ लगायतका अंगमा चोटमा चोट लागेको छ। वडाअध्यक्ष महराले कार्यालयमा सेवाग्राहीको काम गरिरहेका बेला ठगुन्नाको नेतृत्वमा आएको १०/१२ जनाको समूहले एकाएक आक्रमण गरेको बताए। शनिवार राति सुरज चौधरी लगायतलाई ठगुन्ना लगायतका समूहले मदिरा पिएर कुटपिट गर्न थालेपछि वडाअध्यक्षले सम्झाएर पठाएका हुन्। त्यस समूहले राती गाउँमा हो हल्ला गर्ने र गाउँलेलाई आतंकित पारिरहेकाले सम्झाउनका लागि वडा अध्यक्षलाई डाकिएको स्थानिय जगत चौधरीले बताए। वडाध्यक्षले सम्झाएपछि उनीहरु त्यहाँबाट हिँडेका थिए। राति वडा अध्यक्षलाई फेला नपारेपछि दिउँसो कार्यालयमा सेवाग्राहीको भीड रहेका बेला कुटपिट गरेका हुन्। प्रहरीलाई त्यसबारे खवर गरे पनि नआएको स्थानिय बासिन्दाले बताएका छन्। वडाअध्यक्षमाथि कार्यालयमै कुटपिट भइसकेपछि प्रहरी पुगेको स्थानिय बासिन्दाले बताए। महरामाथि आक्रमण गर्नेलाई प्रहरीले अहिलेसम्म नियन्त्रणमा लिएको छैन। यसैबीच शुक्लाफाँटा नगरपालिका नगर कार्यपालिकाको कार्यालयले प्रेस विज्ञप्ती निकालेर उच्छृङ्खल व्यक्तिहरुले वडा कार्यालयमा तोडफोड गर्नुका साथै वडाअध्यक्षमाथि कुटपिट गरेकोमा आपत्ति जनाएको छ।