नेपालगन्ज जिल्ला प्रशासन कार्यालय बाँकेले १७ गते राति १२ बजेदेखि पुनः लकडाउन गर्ने भएको हो। कोरोना भाइरस समुदायस्तरसम्म पुगेको भन्दै प्रशासनले आगामी आइतबारदेखि ३ दिनका लागि पुनः लकडाउन गर्ने जनाएको छ । बाँकेमा कोरोना संक्रमणको जोखिम अत्याधिक बढेसँगै बाँके प्रशासनले दोस्रो पटक लकडाउन गर्न लागेको बाँके प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए । ‘आइतबारदेखि कडा लकडाउन हुन्छ । अटेरी गर्नेलाई तत्काल पक्राउ गरिन्छ ।’ प्रजिअ कुरुम्वाङले भन्नुभयो, ‘बाँकेमा कोरोनाको फेरि भयाबह रुप लिने देखिएपछि लकडाउन गर्नै पर्ने भयो । पहिलोपटक तीन दिनलाई लकडाउन गरिनेछ । त्यसपछि अवस्था हेरेर हेरफेर गरिनेछ ।’राजश्व कार्यालय नेपालगन्जमा विहीबारसम्म ११ जना, यातायात कार्यालयमा १ जना, मिठाई पसल र उनको क्लोज कन्ट्रयाक्टमा आएका गरी १६ जना ब्यक्तिमा कोरोना देखिएपछि प्रशासनले लकडाउनको कदम चाल्न बाध्य भएको हो । सरकारले लकडाउन खोलेसँगै बाँके, बर्दिया कोरोनाको अत्याधिक जोखिममा देखिएको छ । लकडाउनपछि गरिएको परीक्षणका क्रममा दैनिकजसो कोरोना संक्रमित भेटिएका छन् । लकडाउनमा अत्यावशश्यक सवारीसाधान बाहेक कुनैपनि सवारीसाधान चल्न नपाउने र चलेको खण्डमा कानून बमोजिम कारवाही गर्ने प्रशासनले जनाएको छ ।